काठमाडौं । कोभिड–१९ महामारीको समयमा चार्टर्ड विमान उडानमा भएको अनियमितता सम्बन्धी छानबिन प्रतिवेदन पेस गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ। संघीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत गठित उपसमितिको बैठकले प्राधिकरणलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।
सांसद दिव्यमणि राजभण्डारीको संयोजकत्वमा गठित नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान समितिले अनियमितता छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले पेस गरेको प्रतिवेदन पेस गर्न भनेको हो। त्यस्तै, बैठकमा प्राधिकरणले २०७८ माघ १० गतेसम्म स्वदेशी तथा विदेशी विभिन्न संघ संस्थाहरुसँग १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैँया २८ पैसा बक्यौता रकम उठाउन बाँकी रहेको जानकारी गराइएको थियो।
उपसमितिले बक्यौता रकम उठाउनका लागि प्राधिकरणको आगामी कार्ययोजना उपसमितिसमक्ष पेस गर्न पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई भनेको छ। उपसमितिले प्राधिकरणको बक्यौता रकम, कोभिड–१९ महामारीको समयमा चार्टर्ड उडानमा भएको अनियमितता एवं विविध विषयका सम्बन्धमा प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर लगायत अन्य पदाधिकारीहरुसँग छलफल गरेको हो।