काठमाडौं । राष्ट्रिय जनगणना २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु भएको छ । बिहीबार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै औपचारिक शुरुवात गरेकी हुन् ।
बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक खटाइएको छ ।
सही विवरण टिपाउन राष्ट्रपति र प्रधानमन्त्रीको आह्वान
जनगणनामा सही विवरण टिपाउन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका छन् । बिहीबार केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति तथा प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक गरेको छ । राष्ट्रपति भण्डारीले मंसिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गर्न गणक खटिएको भन्दै सही विवरण टिपाउन आह्वान गरेकी छिन् ।
जनगणनामार्फत प्राप्त हुने तथ्यांक नै मुलुकको विकास निर्माण सम्बन्धी नीति, योजना र कार्यक्रम निर्माणका लागि आवश्यक सूचनाको स्रोत भएको भन्दै उनले राज्यले संचालन गर्नेै कल्याणकारी कार्यक्रम सामाजिक सुरक्षाको प्रक्षेपण गर्ने महत्वपूर्ण आधार समेत रहेको बताइन् ।
प्रधानमन्त्री देउवाले देश विकासका लागि उपयुक्त नीति बनाउन, व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्न जनगणना महत्वपूर्ण रहेको बताए ।
केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तय गर्न तथा कार्यक्रम तर्जुमा गर्न प्रयोग हुने भन्दै उनले ‘हामी विगतमा कुन अवस्थामा थियौं, अहिले कुन अवस्थामा छौं र भोलि उज्जवल भविष्य निर्माण गर्न के गर्नुपर्छ भन्ने थाहा पाउन’ पनि महत्वपूर्ण रहेको बताए । तथ्यांक पूर्ण रुपमा गोप्य हुने भन्दै उनले गणकलाई सही विवरण उपलब्ध गराउन आह्वान गरेका छन् ।