काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् ।
आफ्नो भूमिकाबारे समीक्षा गर्न आफू तयार रहेको बताउँदै सभामुख सापकोटाले एमालेले पनि समीक्षा गर्दै सम्वादमा आउने र आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहजरुपमा सन्चालन हुने विश्वास व्यक्त गरे ।
‘मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ,’ बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख सापकोटाले भने, ‘हामी सबैले समिक्षा गरौं र सकारात्मक सोचका साथ संवाद थालौं ।’ जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प नभएको उनको भनाइ थियो ।
नेकपा एमालेलाई फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । संसद सन्चालनको विषयमा सुरुमा सभामुखले र त्यसपछि प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिस्कार गरेका थिए ।
सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गरे ।
सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्ने आरोपको प्रतिवादसमेत गरे । राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढाउन आफूले सहजीकरण गरेको उनले प्रष्टीकरण दिए ।
सभामुख सापकोटाले संसदको गरिमा बढाउन सरकार, गठबन्धन दल र सबै सांसदहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले अगाडि भने, ‘सरकारले, गठबन्धनका सबै नेताहरुले र विपक्षी दलका नेताहरु सबैले समिक्षा गरौं भन्ने अपील गर्न चाहन्छु ।’