काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन्।मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए ।
सरकारले बजेट प्रतिस्थापन विधेयकको दफा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्तकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्त भित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ । एमालेले सोही व्यवस्थामा आपत्ति जनाएको हो ।
पूर्वप्रधानमन्त्री ओलीले सरकारले कालो धनलाई सेतो बनाउनका लागि यो व्यवस्था गरेको भन्दै आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउन नदिने बताए । ‘कालो धनलाई ल्याउन नदिने पक्षमा छैनौं, कालो धनलाई सेतो बनाउन पाइँदैन । जस्तोसुकै भएपनि लगानी गर्न पाउने भन्नु डरलाग्दो कुरा होु’उनले भने, ‘यसले नेपालमा बिपत्ति ल्याउँछ ।’ अध्यक्ष ओलीले अहिलेको संसद राम्रोसँग नचलेको भन्दै ताजा जनादेशमा जानुपर्ने बताएका छन् । ‘संसद चलिरहेको छैन, चुनाव आवश्यक छ । ताजा जनादेशमा जानुपर्छ’ उनले भने ।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि पनि प्रश्न उठाए । सापकोटा हालको सत्तारुढ गठबन्धनको पक्षमा देखिएको पनि उनले बताए ।