एजेन्सी । बिहीबार दक्षिण अफ्रिकामा सम्पन्न भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको १५औँ ब्रिक्स शिखर सम्मेलनले ब्रिक्स संयन्त्रको गतिशीलता, यो बहुपक्षीय मञ्चको विकासको प्रवर्द्धन, बहुपक्षीयताको संरक्षण र विश्वव्यापी शासन सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बहुपक्षीयताका जानकारहरूले बताएका छन् ।
सङ्गठनको ऐतिहासिक विस्तारका क्रममा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स थपिएपछि ब्रिक्स सहयोग संयन्त्रमा जीवन्त, विश्व शान्ति र विकासका लागि सहयोगी हुने धारणा उनीहरूले व्यक्त गरेका छन् । नयाँ सदस्य देश आगामी जनवरी १ देखि पूर्ण सदस्य बन्नेछन् र तिनले सङ्गठनमा नयाँ ऊर्जा प्रवाह गर्ने उनीहरूको अपेक्षा छ ।
विश्व अर्थतन्त्रले गति लिन नसकेको कठिन समयको पृष्ठभूमि तथा कोभिड–१९ महामारीको गम्भीर चुनौतीलाई पन्छाउँदै पहिलोपटक भौतिकरूपमा भएको १५ औँ शिखर सम्मेलनले ब्रिक्स देशबीचको ऐक्यबद्धता र सहयोगलाई बढाएको छ ।