काठमाडौं । सुनसरी ३ मा नेकपा एमालेबाट विजयी भएकी भगवती चौधरीको विजय जुलुसमा झडप हुँदा तीन जना घाइते भएका छन् ।
उक्त क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि निर्वाचित बनेकी चौधरीको विजय जुलुसमा अबिर लगाउने विषयमा झडप हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।
उनका अनुसार विजय जुलुस चलिरहेको क्रममा झडप भएको हो । चौधरीसँग विजय जुलुसमा गइरहेको समयमा रंग अबिर लगाउने कुरामा विवाद भएको थियो,’ उनले भने, ‘कसैले नलगाउने भनेपछि स्थानीय र विपक्षीसँग विवाद भएको थियो । सोही क्रममा ढुंगामुढा पनि प्रहार भएको थियो।’
यस्तै, प्रहरी तैनाथ भएका कारण झडपलाई तत्कालै नियन्त्रणमा लिइएको थियो भने झडपमा तीन जनालाई सामान्य चोटपटक लागेर घाइते भएको उनले बताए ।
अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई उनले ५ हजार १८८ मतले पराजित गरेकी थिइन् ।
चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी थिइन् भने गच्छदारले ३५ हजार ६०० मत ल्याएका थिए।