नेपाल सरकारले बेलायत हुँदै जाने हवाई उडान र यात्रुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । नेपाली दूतावास लन्डनले बेलायत (संयुक्त अधिराज्य), आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुले आवश्यक सर्त सहित उडान गर्न पाउने जनाएको हो । नेपाल सरकारले तत्कालै लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टाइन सम्बन्धी आदेश, २०७७’ जारी गरेको थियो ।
दूतावासले यात्रा प्रतिबन्ध फुकुवा भए पनि बेलायतबाट नेपाल आउने यात्रुहरुले विभिन्न सर्त भने पूरा गरेको हुनुपर्ने बताएको छ । यात्रा गर्नुअघि ७२ घण्टाभित्र प्रयोगशालामा परीक्षण गरेको पीसीआर नेगेटिभ रिपोर्ट, यात्रुले हवाई टिकट खरिद गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा बस्न क्वारेन्टाइनका लागि अनिवार्य रुपमा बुक गरेको प्रमाण साथमा हुनुपर्नेछ । होटल बुकिङको खर्च सम्बन्धितले बेहोर्नु पर्नेछ ।