काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र राजस्व रकम चोरीको आरोपमा एक जना वडासचिव सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शुक्रबार अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-२ वडा कार्यालयका वडा सचिव सरिता राउत कार्यालयका सहायक रामकुमार गिरि र निलप्रसाद मिश्र छन्। उनीसहित तीन जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ। सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम वडा कार्यालयबाट २०७७ चैत २४ गते राती शंकास्पद रुपमा हराएको थियो।
राउतले र गिरीले बैङ्कबाट लिएर आएको रकम राखिएको दराज नफोरिकन हराएको थियो। उनीहरूले सुरक्षा निकायलाई जानकारीसमेत नगराएको बताइएको छ। उनीहरूले सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बिगो रकम र बिगो बराबर जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरिएको हो।