सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारको आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात ठाउँमा बत्ती राख्न लागेको हो ।
विभागले गाडीको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालु आर्थिक वर्षभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो । सरकारले दुई वर्ष पहिलेदेखि उपत्यकाका विभिन्न सडकमा र जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गर्दै आएको छ ।