काठमाडौं । त्रिकोणात्मक टि–ट्वेन्टी कप क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर मैदानमा आज भएको खेलमा नेपालले मलेसिया विरुद्ध ९ विकेटको सानदार जित दर्ता गरेको हो ।
मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ दशमलब १ ओभरमा मात्रै एक विकेट गुमाएर पार गर्यो । नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा अर्धशतकीय पारी खेलेका कुशल भुर्तेलले आज पनि उत्कृष्ट पारी खेले । लगातार अर्धशतकीय पारी खेल्ने क्रममा कुशल आज ६१ रनमा नटआउट रहे ।
४१ बल खेलेका उनले ५ छक्का र ३ छक्का हिर्काए । कुशलसँग उत्कृष्ट साझेदारी गरेका आसिफ शेखले ४२ रनको योगदान गरे । उनले एक छक्का र ४ चौका प्रहार गरे । दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे। यसअघि टस हारेर ब्याटिङमा उत्रिएको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रनमा समेटिएको थियो ।
पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको फराकिलो जित निकालेको नेपालले आज पनि कसिलो बलिङ देखायो । नेपालका लागि करण केसीले ३ विकेट लिन सफल भए । उनले ३ ओभर बलिङ गर्दै १७ रन दिए। त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले एक÷एक विकेट लिन सफल भए ।