विभागीय टिम एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज भएको विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।
जितसँगै एपीएफले ३ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ८ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत नै आज भएको पहिलो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गर्दै पहिलो जित निकालेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् । लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् ।
यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।