काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुनेमा गएराति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो । गुजरात प्ले अफ पुग्ने पहिलो टोली बनेको छ ।
त्यस्तै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे ।
गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २र२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।
डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२ रन बनाए ।लखनउका आभेश खानले २ विकेट लिए । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ। लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।