काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ।नेपालका लागि यसअघि खेलेका बिक्रम सोबको स्थानमा गुलशन झा टिममा परेका छन् । गुलशनको एकदिवसीय क्रिकेटमा डेब्यू हो । त्यस्तै आजकोखेलमा सन्दीप खेल्ने छन् । ओमानविरुद्धको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्दीप आजको खेलमा खेल्ने छन्।
नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार अपराह्न ४ः१५ मा सुरु हुनेछ । नेपाल र अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग–२ मा चौथोपटक आमनेसामने हुन लागेका हुन् । यसअघि ओमानमा नै भएको पहिलो खेलमा नेपालले अमेरिकालाई २ विकेटले हराएको थियो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ३५ रन र आठ विकेटले हराएको थियो।
अहिलेसम्म नेपाल र अमेरीकाले एकदिवसीयमा ७ पटक खेलेका छन् । त्यसमध्ये चार खेल नेपालले जितेको छ भने अमेरिकाले तीन खेल जितेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा अमेरिका दोस्रो स्थानमा छ भने ओमान शीर्ष स्थानमा छ। अमेरिकाले अहिलेसम्म खेलेका १३ खेलमा ६ मा जित र ७ मा हार ब्यहोरेको छ । ६ खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ।