काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७ दशमलव ४ ओभरमा १ सय ९६ रनमा अलआउट भयो । नेपालले घरेलु टोलीलाई जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए । आशिफले ७ चौका र १ छक्काको मदतले १ सय १२ बलमा सो रन बनाएका हुन् । आसिफ एक दिवसीय खेलमा नेपालका तर्फबाट उच्च स्कोर बनाउने ओपनर ब्याट्सम्यान बनेका छन् । ओमानविरुद्ध शतकमा चुकेपनि आशिफ उच्च स्कोर बनाउने ओपनर बने । आशिफकाे ब्याट चलेपनि अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।
अघिल्लो खेलमा चम्किएको कुशल भुर्तेल रोहित पौडेल चल्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । बिक्रम सोबले २ रनमात्र बनाउन सके ।
बलिङमा ओमानका बिलाल खानले चार, जीशान मक्सूद, नेस्टर धम्बा र मोहम्मद नदीमले एक विकेट लिए । नेपालले आज पनि अघिल्लो खेलकै प्लेइङ ११ लाई निरन्तरता दिएको छ ।