काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज सातौँ दिन । तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा गत वैशाख १६ गते निषेधाज्ञा जारी भएको थियो ।
संक्रमण दर झन बढ्न थालेपछि निषेधाज्ञाको अवधि एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको हिजो बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
यसअघि वैशाख १६ गते देखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । यस अवधिमा संक्रमणदर नघटेको र झन उच्च दरमा बढीरहेकाले आगामी २९ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।
संक्रमणको दर बढ्दै गएको तथा आन्तरिक हवाई उडान मंगलबार रातिदेखि र बाह्य उडान पनि आज रातिदेखि बन्द भएको अवस्थामा उपत्यकाभित्रका तीन जिल्लामा पनि २९ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो ।
त्यस्तै अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरी सहयोग गर्न सुरक्षा निकाय र स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उहाँले बताउनु भयो । साथै उहाँले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता अपनाउन सबैमा अपिल गर्नु भएको छ ।