सिद्धार्थ राजमार्ग विस्तारका क्रममा पाल्पा खण्डमा निर्माण भएका करिब ७ सय घर भत्किने भएका छन् । सिद्धार्थ राजमार्गलाई चार लेनमा विस्तार गर्ने तयारी छ । सडक क्षेत्र अतिक्रमण गरी बनेका घरटहरा भत्काउन लागिएको हो ।
सिद्धार्थ राजमार्ग भारतीय सिमाना सुनौलीदेखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म रहेको छ ।
राजमार्गको सुनौलीदेखि बुटवलसम्मको २५ किलोमिटर क्षेत्रमा ६ लेनको सडक निर्माण भई सञ्चालनमा आएको छ भने पाल्पादेखि पोखरासम्मको १५६ किलोमिटर क्षेत्रमा कतै एक लेन त कतै मुस्किलले दुई लेनको सडक सञ्चालनमा छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डको अधिकांश सडक अतिक्रमण भएको छ ।
डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशित गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरेको छ । ढिलोमा चैतदेखि सडक सीमाभित्रका संरचना हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको डिभिजन प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो ।