काठमाडौं - नेपाल पत्रकार मञ्चको छैटौं महाधिवेसन सुरु भएको छ । कोविड १९ को संक्रमणको खतरा नसकिएकोले भर्चुअल प्रणालीबाट शनिबार ३ चरणका कार्यक्रम सम्पन्न गरिएका हुन् ।
पहिलो सत्रमा उद्घाटन, दोस्रोमा प्रतिवेदन प्रस्तुति र तेस्रोमा निर्वाचन समितिका कार्यक्रम गरिएका थिए । पत्रकार सुरक्षा, वृत्ति विकास र क्षमता विकासका क्षेत्रमा मञ्चले उल्लेख्य काम गरेको बताउँदै कार्यक्रमको उद्घाटन सत्रका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मञ्चका क्रियाकलापले नेपाली पत्रकारिताको उत्थानमा सहयोग पुगेको धारणा राख्नुभयो । ‘नेपाली जनजीवनका सवालको उठान गर्दै देशको सार्वभौमिकताका पक्षमा नेपाली पत्रकारको कलमलाई बलियो बनाउन मञ्चले आफ्ना सदस्यहरुलाई प्रेरित गर्ने र पत्रकारको पेशागत सुरक्षामा सदैब अग्रपङ्तिमा रहनेछ भन्ने महासंघको विश्वाश छ ।’ सहासचिव विष्टको भनाइ थियो ।
मञ्चका सदस्यहरु काठमाडौं बाहिर पनि रहेका र विदेशमा भएका सम्पर्क समितिहरुलेसमेत महाधिवेसनमा सहभागिता जनाउन इच्छा जनाएकाले भर्चुअल प्रणालीबाट महाअधिवेशनको कार्यक्रम अघि बढाइको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिनुभयो । महामारीका कारण भौतिक उपस्थिति गराउँदा सीमित व्यक्तिलाई मात्र सहभागी गराउन पाइने भयो । भर्चुअल गर्दा इच्छुक देश विदेशमा भएका सबैलाई कार्यक्रममा सहभागिता जनाउन र आगामी कार्यकालका लागि नेतृत्व दावी गर्न पाउने भएकोले यो विधि उपयुक्त भएको अध्यक्ष विद्रोहीको भनाइ छ ।
कार्यक्रमको दोस्रो सत्रमा महासचिव विमलकुमार थापाले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला नेपालले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । ती प्रतिवेदनहरु सर्वसम्मतिबाट स्वीकृत भएका थिए ।
महासचिव थापाकाअनुसार २०० जना सदस्यमध्ये काठमाडौंबाहिर करीब ५० जना र देशबाहिर करीब २५ जना सदस्य हुनुहुन्छ । संयुक्त राज्य अमेरिका, कोरिया, क्यानाडालगायत देशमा मञ्चका सम्पर्क समिति छन् ।
आज नयाँ कार्यसमिति चयन गर्दै महाधिवेशन सकिने भएको छ ।