काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा एक साताका लागि बन्द गरिएको छ । उपप्रमुख चित्रकुमारी चौधरीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
उपप्रमुख चौधरीको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव संकलन गरी जाँच गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय मंसिर १८ देखि २४ सम्म सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, वडा नम्बर ४, ५ र ६ का कार्यालय समेत बन्द गर्ने निर्णय गरिएको छ । कन्ट्रयाक्ट ट्रेसिङसँगै नगरपालिका कार्यालय सेनेटाइज गर्न नगरपालिका कार्यालय र वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले बताउनुभएको छ ।