काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले आज र वेदमा आधारित भई कर्म गर्नेले भोलि मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ । आज सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् ।
यस अवसरमा काठमाडौं उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ ।
भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशंखुनारायण, काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचंगुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् । दक्षिणकाली नगरपालिका–५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा आज र भोलि दुवै दिन मेला लाग्ने भएको छ । यस्तै बूढानीलकण्ठ मन्दिर पनि यस वर्ष कोरोनाका कारण भक्तजनका लागि खुला नगरिने भएको छ ।