काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । आज बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन । एक सय वर्ष भन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ ।
निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।
मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित बनेका छन् । मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको आरोप लगाउनुभयो ।
यस अघि पनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई तनाव दिएको उहाँले बताउनुभयो । यस्तै मस्जिद रहेको काठमाडौं महानगरपालिका २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको आरोप लगाउनुभयो ।
आज घटेको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटनाले मुस्लिम समुदायलाई चिन्ता थपि दिएको बताउनुभयो ।