ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरूले पाउने उचित ज्याला अनिवार्य रूपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।
“असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरू उहाँहरूको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ,” उनले भने ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरेक व्यवसायीले आफूले जिम्मा लिएको काम समयमै गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै यसले मुलुकमा समृद्धि हासिल गर्ने बताइन् । उनले भने, “तपाईं व्यवसायीले गरेका नराम्रा कामको प्रभाव कुनै पनि पार्टीले भग्नु नपरोस् भन्ने हामी चाहन्छौँ ।”