ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ ।
कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।
हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ ।
कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरिएको छ ।
ताप्लेजुङमा पछिल्लो समय सङ्क्रमणको दर न्यून हुँदै गएको छ । सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ ।