काठमाडौं । काठमाण्डौमा केही सहज व्यवस्थासहित थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि लागू हुँदैछ ।
यसअघि जेठ मसान्तसम्म निषेधाज्ञा रहेकोमा काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थपेर असार ७ गतेसम्म पुर्याएको हो ।
थपिएको निषेधाज्ञाका समयमा तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
यस्तै पुस्तक पसल तथा प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यस्तै, अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा पनि बेलुकी सात बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । गाडी मर्मतका लागि वर्कशप बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।
विकास निर्माणजन्य सामग्रीहरु छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर लगायतका पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने भएको छ । यस्तै राति नौ बजेदेखि बिहान ५ बजेसम्म निर्माणजन्य सामग्री ढुवानी गर्न पाइने भएको छ । कृषिफर्म तथा कृषिजन्य वस्तुहरुको किनबेच र ढुवानीमा सहजीकरण गरिने निषेधाज्ञा आदेशमा भनिएको छ ।
निजी तथा सार्वजनिक यातायात असार ७ गतेसम्मकै लागि बन्द रहनेछन् । भौतिक उपस्थितिमा हुने शैक्षिक कार्यक्रम बन्द रहनेछ । भौतिक उपस्थितिमा सभा–सम्मेलन गर्न पाइने छैन । होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस लगायतमा लगाइएको प्रतिबन्ध यसअघिकै निरन्तर छ ।