काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्नका लागि आजदेखि हवाइ उडान पनि बन्द गरिने भएको छ ।
मन्त्रिपरिषदको हिजो बसेको बैठकले आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार वैशाख २२ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिनेछ ।
वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिए पनि हवाइ उडान भने निरन्तर चलिरहेको छ । अत्यावश्यक पर्दा चार्टर्ड उडानका लागि अनुमति दिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री गुरुङले बताउनु भयो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले पनि हवाइ सेवा बन्द गर्न सिफारिस गरेको थियो। सार्वजनिक यातायात संचालनमा रोक लगाएर हवाई सेवा खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध हुँदै आएको थियो ।