नारायणहिटी दरबार सङ्ग्रहालयस्थित पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको निवास रहेको श्रीसदनमा अवलोकनकर्ताको भिड बढ्न थालेको छ । गत मङ्सिर ६ गते उद्घाटन गरी ७ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको श्रीसदनमा पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्यको कक्षसहित पूर्वअधिराजकुमारी श्रुति र पूर्वअधिराजकुमार निराजनले बाल्यकालमा प्रयोग गरेका कक्ष छन् ।
यी कक्ष हेर्न अवलोकनकर्ताको भिड लाग्ने गरेको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो ।
पूर्वराजा वीरेन्द्रले लामो समयसम्म निजी निवासका रूपमा प्रयोग गरेकाले अवलोकनकर्ताको रुचि बढेको हो । नारायणहिटी दरबारलाई सङ्ग्रहालय घोषणा गरिएको करिब १३ वर्षपछि श्रीसदन खुला गरिएको हो ।
दरबारलाई २०६५ साल असार १ गते राष्ट्र प्रमुखको जिम्मेवारीसमेत वहन गरेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सङ्ग्रहालयका रूपमा उद्घाटन गरेका थिए ।
सङ्ग्रहालय उद्घाटनको साढे आठ महिनापछि विसं २०६५ फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वसाधारणका लागि प्रदर्शन खुला गर्नुभएको थियो । सङ्ग्रहालय प्रवेशका लागि नेपालीसँग रु २००, नेपाली विद्यार्थीका लागि रु ५०, सार्क मुलुक र चीनका नागरिकका लागि रु ५०० तथा अन्य विदेशी नागरिकका लागि रु एक हजार शुल्क लिने गरिएको छ ।