पशुपतिनाथ मन्दिरको मुल मूर्तिमाथि राखिने सुनको जलहरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हाल कायम रहेको चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राख्न लागिएको हो । त्यसका लागि राष्ट्रबैंकबाट आवश्यक सुन किनेर जलहरी निर्माणको काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
१ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्रबैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइने छ । धार्मिक तथा सांस्कृतिक विश्वास एवम् जलहरीलाई बलियो बनाउनका लागि चार किलो सुन बाहेकको धातु मिसाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले बताउनुभयो ।
जलहरीका लागि आवश्यक सुन खरिद गर्न प्रधानमन्त्री ओलीले गत माघ १२ गते पशुपतिनाथको दर्शनका बेला घोषणा गरे अनुसार सरकारले ३० करोड रुपैयाँ दिएको हो । बाँकी ६० करोड रुपैयाँ कोषले खर्च गरेको हो । तीव्र गतिमा काम गरिएकाले जलहरी निर्माण अन्तिम चरणमा पुगेको र अहिले नाग बनाउने तथा बुट्टा भर्ने काम भइरहेको छ ।