कोभिड १९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको जनाएको छ ।
विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना महामारीपछि विद्यालय पूर्ववत् सञ्चालन हुन नसक्दा सञ्चार तथा सूचना प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण भएका बेला पाठ्यक्रम समायोजन गरी सिकाइ निरन्तरता गरिएको छ ।
कोरानाको जोखिम घट्दै गएको र लामो सयम वैकल्पिक माध्यममा शिक्षा दिँदा सिकाइ गुणस्तरमा नकारात्मक असर पर्नसक्ने भएकाले पछिल्लो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विद्यालय सञ्चालनको क्रम शुरु भएको छ। जाडो बिदा नदिइ कक्षा सञ्चालन भएकाले शैक्षिक सत्र व्यवस्थापनमा यसले सकारात्मक प्रभाव पार्ने देखिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिक सत्रलाई दुई महिनासम्म लम्ब्याउने विषयमा छलफल भइरहेको जनाउँदै सोका लागि शिक्षा नियमावलीमा मन्त्रिपरिषद्बाट संशोधन गर्नुपर्ने बताउनुभयो ।