एकवर्ष अघि निर्माण सम्पन्न भएको नेपालकै दोस्रो लामो पक्की पुल उदघाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ्गको देउखुरी जानु हुने भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी निर्माण भएको पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री देउखुरी जान लाग्नुभएको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेको उक्त पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।
पुल उद्घाटन कार्यक्रमको तयारी पूरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका–२ लालमटीयामा सभाको आयोजना गरिने बताइएको छ ।