काठमाडौं । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोकमा जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आज शुक्रबारदेखि सुरु हुने भएको छ ।
सुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ र बोल्देका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइले जनाएको छ ।
गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम सुरु गर्न लागेको हो ।
सिन्धुपाल्चोकमा यस वर्ष लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गर्नुभएको थियो ।