काठमाडौं । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । हिजो अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय सुरक्षामा गम्भिर चुनौती थपिएको हो ।
रुसी लडाकु विमानसँग ठोकिएर आफ्नो एम. क्यु. नाइन ड्रोन विमान कृष्ण सागरमा खसेको अमेरीकी रक्षा मन्त्रालयको दाबी छ । सामान्य ड्रोन भन्दा फरक र विशेष क्षमताको यो ड्रोनको पखेटा २० मिटरसम्म चौडा छन् । रुसले अमेरिकी ड्रोन विमान तिव्र गतिमा मोडिन खोज्दा आफैं दुर्घटनामा परेको बताएको छ ।
यसैबीच, अमेरिकाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडिरहेको ड्रोन खसालेर रुसले हतास मनस्थिति प्रदर्शन गरेको प्रतिक्रिया दिएको छ । अमेरिकी सेनाको युरोप कमाण्डले विज्ञप्ति जारी गर्दै रुसी लडाकु जेट सु–२७ ले ड्रोनलाई ठक्कर दिएर खसालिएको जनाउँदै रुसी कदमले अबाञ्चित तनाव बढाउन सक्ने बताएको हो ।
यता, रुसी रक्षा मन्त्रालयले भने अमेरिकी ड्रोन क्राइमियाको आकाश नजिक उडिरहेको तर रुसी लडाकु विमानले भने ठक्कर नदिएको दाबी गरेको छ ।