काठमाडौं । संघीय संसद् भवनअगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।
आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु भएको छ ।
त्यहीक्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उन्ीहरुले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए ।
उनले भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि उल्लेख गरेकाले त्यस विषयमा सोधपुछ भइरहेको बुझिएको छ । उनीसहित आचार्यको स्ट्याटसमा उल्लेखित अन्य व्यक्तिसँग पनि सोधपुछ हुने प्रहरीले जनाएको छ ।
अघिल्लो साता मंगलबार दिउँसो आफैंलाई आगो लगाएका प्रेमप्रसादको भोलिपल्ट बिहान ६ बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो ।