काठमाडौं । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।
फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन्। तीमध्ये सबैभन्दा ठूलो सोमबार राति ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । राति करिब साढे ९ बजे कृष्ण अधिकारीलगायतले सञ्चालन गरेको डाइपर गोदाममा आगलागी हुँदा करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको थियो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।
आगलागीलगत्तै ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो। सो दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछि कामपाको दमकल पनि पुगेको थियो । साढे ९ बजेबाट लागेको आगो मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा आएको कामपा दमकल प्रमुख प्रकाश पण्डितले बताए। उनका अनुसार सुरूमा कवाड कारखानामा आगलागी भएको थियो ।
त्यहाँको आगलागी नियन्त्रण भएको अनुमान गर्दागर्दै डाइपर गोदममा आगलागी भयो । सो आगलागीबाट करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको दमकल प्रमुख पण्डितको भनाइ थियो।