काठमाडौं । आउँदो माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएशनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थपिएकाले बैंकहरु ब्याजदर घटाउन सहमत भएका हुन् । नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको बैंकर्स एसोसिएशनले जनाएको छ।
राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। त्यसैअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो ।
माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२ दशमलव १३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुनेछ भने संस्थागततर्फको १० दशमलव १३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुनेछ।