काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको भन्दै प्रधानमन्त्री देउवाले चाडपर्व उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपालीबीच आपसी भाइचारा, सौहार्द र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले जारी गरेको शुभकामना सन्देशमा यो पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।