काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ ।
किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनु अघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई उधौली र उभौली गरी दुई भागमा बाँडेको छ ।
खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो ।
बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा÷पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ ।
उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । सरकारले उधौली पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।