काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज मेला लाग्दैछ । स्थानीय भाषामा ‘देहिजाँत’ले परिचित सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा मार्गशीर्ष कृष्णपक्षको प्रतिपदामा भव्य मेला लाग्छ ।
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात र भोलिपल्ट दिउँसो ‘दिउसेडी’ मेला लाग्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
बिहान ४ बजे धार्मिक परम्पराअनुसार दाइन, दमाह, रुइसिंग, विकुल, भोकर, शंख, घण्टा इत्यादि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भएको हो ।
उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए ।