काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो ।
नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।
दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।
यस्तै नेपाल राष्ट्र बैंकले दसैँ बिदा सकिएर कार्यालय खुलेपछि फेरि नयाँ नोट साटिदिने भएको छ । तिहारको लागि पनि नेपालीले नयाँ नोटको खोजी गर्ने भएकोले नयाँ नोट साटिने उनले जानकारी दिए ।