काठमाडौं । देशका सबै स्थानीय तहहरुले आज बजेट ल्याउँदैछन् । स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट आज आ–आफ्नो सभामा प्रस्तुत गर्नेछन् । कतिपय स्थानीय तहले भने बुधबार बिहीबार नै बजेट ल्याईसकेका छन् ।
नेपालको संविधानले जेठ १५ गते संघिय सरकारको बजेट, असार १ गते प्रदेश सरकारको बजेट र असार १० गते स्थानीय सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार आज देशका प्राय सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने पहिलो वर्ष हो ।
त्यसैले चुनावमा गरेको वाचा पूरा गर्ने पहिलो बजेट ल्याउन उनीहरु उत्साहित छन् । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरले चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।
आगामी वर्षको लागि चालु आर्थिक वर्षको भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने उनले बताइन् ।