काठमाडौं । काठमाडौंको बागबजारका भाँडोमा थापेर राखेको धारा र ट्युबवेलको पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।
इकोली र कोलीफर्म भएको पानी खाएकै कारण दुई जना दिदीबहिनीलाई हैजा भएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले जानकारी दिए ।
उनका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । धारा र ट्युबवेलबाट आएको पानीको नमुना परीक्षण गर्दा हैजामा पाइने जीवाणु भेटिएको उनले बताए ।
भाँडोमा राखेको पानीको नमुना परीक्षणमा हैजा फैलाउने जीवाणु भेटिएकाले धाराको पानी र ट्युबवेलको पानीको स्रोतमा नै परीक्षण गर्न लागिएको डाक्टर चुमनलाल दासले बताए । उनका अनुसार पानीको स्रोत र वितरण केन्द्रमा नमुना परीक्षणका लागि टोली खटिसकेको छ ।