काठमाडौं । नेकपा एमालेका नेता एवं वागमती प्रदेशसभा सदस्य शशिजंग थापाले स्थानीय तहको निर्वाचनमा प्रतिपक्षका विरुद्ध सत्तापक्षले गठबन्धन गरेर विश्वमै नभएको इतिहास कायम गरेको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै नेता थापाले प्रतिपक्षका विरुद्धमा लड्नका लागि सत्तापक्षका सबै शक्ति एकजुट हुनु भनेको बिडम्बना भएको बताए ।
उनले पार्टीहरु छुट्टाछुट्टैरुपमा चुनाव लडेको भए नेकपा एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा जस्तै परिणाम ल्याउने दाबी गरे। नेकपा एमालेले वागमती प्रदेशमा विगतमा विजय हासिल गरेको थुप्रै पालिकाको नेतृत्व गुमाउन बाध्य भएको बताउँदै नेता थापाले यसको पार्टीले गम्भीर समीक्षा गरिरहेको बताए ।
उनले अहिलेको स्थानीय तहको निर्वाचनमा एमालेले प्राप्त गरेको परिणामको क्षतिपूर्ति आउने प्रदेश र संघीय निर्वाचनमा पूर्ति गर्ने गरी आफूहरु लागिरहेको बताए ।