काठमाडौं । यस वर्षको शैक्षिकसत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुरस्तक अभाव भएको हो ।
सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजीक्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघिनै सरकारले निजीक्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो ।
जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी छ । चालु शैक्षिकसत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्यपुस्तक छपाइ सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रशितत छपाइ भइरहेको जनाएको छ । ‘यस वर्षको शैक्षिकसत्रलाई जनक शिक्षाले १ करोड ९८ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौँ, बाँकी पुस्तक असार पहिलो सातासम्म छपाइ सक्छौँ र अबको एक महिनाभित्रमा विद्यार्थीको हातहातमा पुस्तक पुग्छन्,’ झाले भने ।