काठमाडौं । आईसीसी १९ वर्ष मूनिको विश्वकप एसिया छनोटका लागि नेपाली महिला टोलीको घोषणा गरिएको छ। शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा कृतिकासँगै उपकप्तान स्नेहा महरा, श्रृष्टि जैसी, मनिषा उपाध्याय र मनिषा रानामगर रहेकी छन्। यस्तै, विकेटकिपरद्वय एलिसा यादव र रञ्जु श्रेष्ठ, साना प्रभिन, आस्मा पुलामी मगर, सानु राजवंशी, किरण कुवँर, अन्जली विक, अनु कडायत र सुस्मिता भुसाल रहेकी छन्।
जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाइल्यान्ड छन्। चीन र म्यानमार भने सहभागी नहुने भएका छन्।
नेपालले कतारसँग जेठ २० मा खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। यस्तै, दोस्रो खेलमा युएईविरुद्ध २१ गते र भुटानसँग २३ गते खेल्नेछ।
त्यस्तै, नेपालले २४ गते थाइल्यान्ड र २५ गते मलेसियाविरुद्ध खेल्नेछ। नेपाल शीर्ष स्थानमा रहन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकप खेल्न पाउने छन्।
१९ वर्ष मूनिको महिला विश्वकप पहिलो पटक हुन लागेको हो। २०२३ को सुरुआतमा दक्षिण अफ्रिकामा हुने प्रातियोगितामा १६ टोलीको सहभागिता रहने छ।