एजेन्सी । पाकिस्तानी नेता शहबाज शरीफ नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।
सोमवार पाकिस्तानी संसदमा भएको मतदानमा बहुमत प्राप्त गरेर उनी प्रधानमन्त्री बनेका हुन् । यसअघिका प्रधानमन्त्री इमरान खान अविश्वास प्रस्तावमा पराजित भएर अपदस्थ भएका हुन् । शहबाज तीनपटक प्रधानमन्त्री बनेका नवाज शरीफका भाइ हुन् ।
यसअघि आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि इमरान खानले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइ दिएको थियो । त्यसपछि संसदमा मतदान हुँदा खान सरकारले बहुमत गुमाएको थियो ।
पाकिस्तानको ७५ वर्षे इतिहासमा अहिलेसम्म कुनै प्रधानमन्त्रीले पनि पाँच वर्षे कार्याकाल पूरा गर्न पाएका छैनन् । पाकिस्तानमा सन् १९९३ मा एकै वर्ष पाँच जना प्रधानमन्त्री परिवर्तन भएका थिए ।