काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा पाँच जनाको नाम सिफारिस भएको छ । बोर्डको अध्यक्षका लागि छनोटसम्बन्धी कार्यविधि, २०७८ बमोजिम सिफारिस समितिले उनीहरूको नाम सिफारिस गरेको हो ।
समितिले उम्मेदवारहरूको कार्यविधिको दफा ११ को खण्ड (क) र (ख) अनुसार मूल्यांकन गरेर दफा ९ बमोजिम वर्णानुक्रमका आधारमा डा. महाश्रम शर्मा, प्रा. डा. घनश्याम भट्टराई, प्रा. डा. महानन्द चालिसे, दुर्गाप्रसाद पाण्डे र प्रा. डा. शोभाखर कँडेलको नाम सिफारिस गरेको हो ।
शिक्षा मन्त्रालयले गएको २५ कात्तिकमा सूचना जारी गर्दै समितिले अध्यक्ष पदका लागि दर्खास्त दिन ९ मंसिरसम्मको समयावधि दिएको थियो । बोर्डको अध्यक्षका लागि १५ जनाले दर्खास्त दिएका थिए ।
बोर्डको अध्यक्ष हुन शिक्षा तथा परीक्षाको क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने कानुनी व्यवस्था छ । साथै, दर्खास्त दिने व्यक्ति कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको हुनुपर्छ ।