काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको छ । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन नेपाल एयरलाइन्सलाई बाटो खुलेको छ ।
नेपाल नागरिक उड्डन प्राधिरकणले जारी गरेको अनुमतिपत्रअनुसार त्यस्ता सामान ढुवानीका लागि तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमका बीच निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र जारी गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री प्रेम आलेले आफूले मन्त्रालय अनावश्यक खर्च कटौती गर्दै लागको दावी गरे । नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा लैजाने चाहना राखेको बताए ।