काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर दार्चुलाको महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको विषयमा जस्तो प्रतिवेदन आए पनि सार्वजनिक गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले छानबिन समितिको प्रतिवेदन जे आएपनि सार्वजनिक हुने र त्यही आधारमा जस्तोसुकै कदम चाल्ने घोषणा गरे ।
‘छानबिन समितिले प्रतिवेदन बुझाएपछि नै अन्तिम निष्कर्ष निस्किने छ,’ खाणले भने, ‘दार्चुलाको स्थानीय, प्रदेश सरकार, त्यहाँका जनप्रतिनिधि सबैसँग छलफल भएपछि तथ्य र सत्य पत्ता लगाएर तथ्यसत्यको आधारशिलामै प्रतिवेदन बन्ने हो, नेपाल सरकारले जे तथ्य हो, त्यही नै सार्वजनिक गर्नेछ। उनले यदि तुइन काटिएको पुष्टि भएमा नेपाल सरकारले पूर्ण रुपमा अडानसहित लड्ने बताए। ुत्यो तथ्यका लागि नेपाल सरकारले पूर्णरुपमा अडान लिनेछु, उनले भने, जुनसुकै कदम चाल्न पनि नेपाल सरकार तयार छ ।’
गृहमन्त्री खाँणले त्यसका लागि छानबिन समितिले मिहिनेत गरेर काम गर्ने विश्वास दिलाउन खोजे। भौगोलिक विकटताका कारण छानबिन समितिलाई १० दिनको समय दिइएको उनले बताए ।‘हामीले सुरुमा ७ दिनको समय दिने कि भनेका थियौं तर, काठमाडौंबाट धनगढी जानुपर्योु, उनले भने, धनगढीबाट डडेल्धुरा जानुपर्यो ।
त्यहाँबाट दार्चुला जानुपर्यो । त्यहाँको भूगोल विकट छ।, समस्याहरु छन् । त्यसकारण हामीले १० दिनको समय दिएका हौँ,’ गृहमन्त्री खाँणले भने । उनले छानबिन समितिले घटनास्थल पुगेर सत्यतथ्य ल्याउने पनि बताए। ुउहाँहरुले जाँचबुझ गरेपछि, खाली जिल्ला सदरमुकाम गएर मात्र होइन, घटनास्थलमै गएर त्यहाँका आमनागरिकसँग पनि भेटेरै सत्यतथ्य छानविन गरेर प्रतिवेदन बुझाउनुहुनेछ,’ उनले भने ।