काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेको घटना छानविनका लागि संसदीय समिति गठनको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा नेकपाका सांसदहरुले संसदीय समिति गठन गरेर दार्चुला घटना छानविन गरिनुपर्ने माग गरेका हुन् ।
एमाले सांसद गणेश ठगुन्नाले गृहजिल्ला दार्चुलामा केही दिनअघि भारतीय सुरक्षाकर्मीले तुइन काट्दा भएको घटना छानविनका लागि संसदीय समिति गठन गर्न माग गरे। ‘यो घटना छानविनका लागि संसदीय समिति गठन गरियोस्,’ उनले भने ।
ठगुन्नाले घटनालाई लिएर भारतको विरोध गर्नुपर्ने र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने पनि माग गरे । ‘भारतसँग विरोध जनाइयोस्। मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिइयोस्,’ उनले भने ।
सांसद ठगुन्नाले दार्चुलाको कालापानी–तिंकर सडक खण्डलाई राष्ट्रिय गौरवको सडक नाएर तुइनको जोखिमपूर्ण यात्रा समाप्त गर्नुपर्नेमा जोड दिए। ‘कालापानी–तिंकरलाई राष्ट्रिय गौरवको सडक बनाइयोस्, ताकी नेपाली नागरिकले तुइन तर्न नपरोस्,’ उनले भने ।
अर्का सांसद राजेन्द्र गौतमले पनि दार्चुला घटना छानविनका लागि संसदीय समिति गठनको माग गरे । ‘दार्चुला घटनाबारे संसदीय समिति गठन गरियोस्,’ उनले भने, ‘तत्कालन गृहमन्त्रीले जानकारी दिउन् ।’
भूमि त्रिपाठीले पनि संसदीय समिति गठन गर्न सरकारसँग माग गरे । यस्तै एमाले सांसद खगराज अधिकारी नेपाली नागरिक उपनिवेश भएर नबसेको तथ्य स्मरण गराउँदै संसदीय समिति गठनको माग गरे। ‘यो निमुखो तरिकाले बोलेर हुँदैन। उपनिवेश भएर हामी बसेको होइन। यो कुराको पनि जवाफ आओस्,’ उनले भने ।