काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन्।
तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारी समेत गरे । ‘यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौं ।’ अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भने, ‘प्रतिवाद गर्छौ र आवश्यक पर्यो भने प्रतिरोध पनि ।’ उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दावी समेत गरे।
अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको देखाएको बताए। उनले माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकाबाज र बेइमान काम गरेको आरोप लगाए । ‘पार्टीप्रतिको निष्ठा, इमान सबै छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पु¥याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो ।’ अध्यक्ष ओलीले आक्रोशित हुँदै भने– ‘यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो ।’
अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दावी गरे । उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारीजस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताए ।