काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप हिजो स्थगित बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे पनि आज छलफल हुने तामाङले बताए ।
तुलुसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकअघि नेपाल पक्षलाई पनि सहमतिमा ल्याउन दोस्रो तहका नेताहरु लागि परेका छन् । तर, हिजो नै पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहोर्याएका थिए भने नेता नेपालले अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै ओलीलाई फेरि प्रधानमन्त्री बन्ने जालझेल नगर्न चेतावनी दिएका थिए ।
सहमतिको प्रयासमा हिजो बैठक स्थगित गरेर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका विघटित कार्यदलका सदस्यलाई समेत नेपालले १० बुँदे नजान्ने र ओलीलाई अध्यक्ष पनि नमान्ने अडान सुनाएको नेताहरुले बताए छन् ।
यता ओलीले आजको बैठकअघि सहमति नआए ‘वारपार’ गरेर अघि बढ्ने निकट नेताहरुलाई बताइसकेकाले आजको बैठक निर्णायक हुन सक्ने आकलन गरिएको छ । तथापि आज पनि एमालेको विघटित कार्यदलमा रहेका सदस्यहरु भीम रावल, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण विष्ट लगायतका नेताहरु ओली र नेपाललाई वार्ता गराउने प्रयासमा जुटेका छन् ।