काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले एमाले विभाजित गर्ने षडयन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको बताएका छन् ।
१० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीको एकता जोगाउनुपर्ने मत निष्कर्षमा पुगेको दोस्रो तहका नेताहरुले आज बिहान आचार्यसहितका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । त्यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
विघटित पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका आचार्यले आज बिहान वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । बिहान नेपाल निवास कोटेश्वरमा कार्यदलका सदस्यहरु पुगेका थिए ।
नेपालसँगको भेटपछि आचार्यले देउवाले हतारमा विश्वासका मत लिन लाग्नु एमाले विभाजन गराउने षड्यन्त्र भएको बताएका हुन् । आचार्यले प्रश्न गरे, ‘आज हतार गरेर लिन के जरुरी छ ?’
नेता आचार्यले एमालेमा १० बुँदे सहमति भएपछि पार्टी एकतावद्ध गराएर पार्टीको निर्णयअनुसार अगाडि बढ्ने गरी तयारी भइरहेका बेला विश्वासको मत लिन लाग्दा पार्टी फुटतिर अग्रसर हुने बताए ।
विश्वासको मत दिने विषयमा आफूहरुबीच कुनै छलफल नभएको भन्दै आचार्यले नेपाल समूहमा मतका विषयमा के गर्ने भन्ने निर्णय नभएकाले कसैले मत दिए त्यो व्यक्तिगत हुने बताए । नेपाल समूहले विश्वासको मत नदिने उनको भनाइ छ ।